अक्सफोर्ड कलेजद्वारा १६ जना शिक्षक तथा कर्मचारी सम्मानित

२०८३ असोज २८ बुधबार २०:३४:०० मा प्रकाशित


गैँडाकोट। अक्सफोर्ड कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेण्टले बुधबार १६ जना प्राध्यापक, शिक्षक तथा कर्मचारीलाई सम्मान गरेको छ । शिक्षा क्षेत्रमा चार दशकभन्दा लामो समय योगदान पु¥याउनुभएका अक्सफोर्ड कलेजका संस्थापक तथा प्राचार्य प्राध्यापक डा. इन्जिनियर हरि प्रसाद भण्डारीले कर्मचारीको मनोबल र कार्यक्षमता अभिवृद्धिका लागि सम्मान तथा प्रोत्साहन कार्यक्रम आवश्यक रहेको बताउनुभएको छ । 


सम्मानित तथा पुरस्कृत हुनेहरुमा प्राध्यापक. डा ईन्जिनियर हरि भण्डारी, एसोसिएट प्रोफेसर भीमप्रसाद भण्डारी, बालकृष्ण न्यौपाने, ई सन्तोष पौडेल, सुजन घिमिरे,  रेखा लम्साल, रितु कुमाल, नवराज गौतम, दीपेन्द्र सिलवाल, दानबहादुर गिरी, प्रमोद चापागाईं, माधवमान बस्नेत, खुमराज ढकाल, शिवबहादुर पाठक, भीमप्रसाद सुवेदी, खुमकान्त घर्ती रहनुभएको अक्सफोर्ड सेकेण्डरी स्कुलका प्रशासन प्रमुख नारायण सिग्देलले जानकारी दिनुभएको छ । 


त्यस्तै कार्यक्रमकै अवसरमा यस वर्ष कलेजमा नियुक्ति हुनुभएका प्राध्यापक तथा कर्मचारीहरुलाई नियुक्तिपत्र समेत प्रदान गरिएको छ । त्यस्तै, कलेजको भर्ना कार्यक्रममा सहयोग गर्ने कृष्ण विके, शरदचन्द्र न्यौपाने, धर्मराज उप्रेती, दीपेन्द्र सिलवाल, रेखा लम्साल, नवराज गौतम, दीपक पराजुली, मुक्ति भुसाल लगायतलाई कलेजका अध्यक्ष नारायण भण्डारी तथा प्रिन्सिपल प्राध्यापक डाक्टर इन्जिनियर हरि भण्डारीले मायाको चिनो प्रदान गर्नुभएको छ । 


अक्सफोर्ड कलेजको राष्ट्रिय स्तरमा मात्र नभएर अन्तर्राष्ट्रिय स्तरमा समेत उत्कृष्ट पहिचान भएको उल्लेख गर्दै उहाँले यहाँ प्रवेश गरेपछि सकारात्मक सोचको विकास गर्नुपर्ने बताउनुभयो ।


विजयादशमीको शुभकामना आदानप्रदान तथा कर्मचारी सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शिक्षण संस्थाको सफलता शिक्षक तथा कर्मचारीको समर्पण, मेहनत र निरन्तर प्रयासमा निर्भर रहने धारणा व्यक्त गर्नुभयो । उहाँकै नेतृत्व र योगदानमा अक्सफोर्ड कलेज अन्तर्राष्ट्रिय स्तरमा पहिचान बनाउन सफल भएको हो ।


कर्मचारीको योगदानको कदर गर्दै उनीहरूलाई थप जिम्मेवार, उत्प्रेरित र संस्थाप्रति प्रतिबद्ध बनाउन कलेजले हरेक वर्ष शिक्षक कर्मचारीलाई सम्मान कार्यक्रम सञ्चालन गर्दै आएको छ । 


विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नारायणप्रसाद भण्डारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलेजका अन्तर्राष्ट्रिय अनुसन्धान विभाग प्रमुख प्राध्यापक डा. बसन्तप्रसाद अधिकारी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । कार्यक्रममा इन्जिनियरिङ विभाग प्रमुख भीमप्रसाद भण्डारी तथा राष्ट्रिय कलाकार हरि योञ्जनको समेत उपस्थिति थियो ।


कार्यक्रममा ए. एन. भण्डारी, प्राध्यापक डा. बसन्तप्रसाद अधिकारीले विजयादशमीको शुभकामना व्यक्त गर्दै शैक्षिक गुणस्तर, संस्थागत विकास र कर्मचारीको योगदानको महत्त्वबारे धारणा राख्नुभएको थियो ।


कार्यक्रममा अक्सफोर्ड सेकेण्डरी स्कुलका प्रशासन प्रमुख नारायण सिग्देलले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कलेजका भाइस प्रिन्सिपल कृष्णहरि पौडेलले सहजीकरण गर्नुभएको कार्यक्रमले चाडपर्वको शुभकामना आदानप्रदानसँगै शिक्षक तथा कर्मचारीको योगदानको सम्मान र संस्थागत एकतालाई प्राथमिकता दिएको थियो ।   शैक्षिक संस्थामा कार्यरत जनशक्तिको योगदानको पहिचान र सम्मानले कर्मचारीको मनोबल बढाउनुका साथै गुणस्तरीय शिक्षा र संस्थागत उन्नयनमा सकारात्मक भूमिका खेल्ने अपेक्षा गरिएको छ ।