मानवीयता हराउँदै गएको समाजलाई कसरी जोगाउने?
नवलपुर / जितपुर सिमरा–१ की ३ वर्षीया अबोध बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराध र निर्मम हत्याले सारा संसारलाई अत्यन्तै दुःखी र स्तब्ध बनाएको छ। यो घटनाले नेपाली समाज कता जाँदैछ, के हामीमा मानवीय संवेदना हराउँदै गएको हो त ? भन्ने चिन्तको विषय बनेको छ । सानी नानी गरिमाप्रति भावपूर्ण श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछौं ।
गरिमा हराएको दिनदेखि नै राज्यको साथ खोजिरहेको परिवार न्याय पाइन्छ भन्ने आशामा सरकारलाई गुहारिरहेको छ, पर्खिरहेको छ। नेपाली समाज गरिमाको न्यायको लागि बोलिरहेको छ । के सरकारले यो परिवारको पीडा बुझेको छ ? राज्यमा सरकार रहेको आभाष परिवार र सिङ्गो समाजले खोजिरहेको छ ।
घटनाको तत्काल निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनबमोजिम सजाय दिलाउन सरकार गम्भीरतापूर्वक अघि बढ्नुपर्छ। साथै, यस्ता घटना फेरि दोहोरिन नदिन सुरक्षा संयन्त्रलाई थप प्रभावकारी, संवेदनशील र जवाफदेही बनाउन तत्काल कदम चालिनुपर्छ।
गरिमाको घटनाले हामीलाई बालिका तथा किशोरीको सुरक्षाका लागि अझै धेरै गर्न बाँकी छ भनेर फेरि सम्झाएको छ। हरेक बालिका सुरक्षित, संरक्षित र न्यायप्रति विश्वस्त हुने वातावरण नबन्दासम्म हाम्रो जिम्मेवारी पूरा भएको मान्न सकिँदैन। तसर्थ हाम्रा छोरीचेली सुरक्षित भएको महसुस गराउनका लागि पक्कै पनि सरकारको महत्वपूर्ण भूमिका नेपाली समाजले आश गरेको छ ।
आज दिनहुँ यस्ता घटना घटिरहेका छन् । आज बालिका तथा किशोरी सबै भन्दा नजिकको अभिभावक आफ्नै आफन्तबाट, शिक्षक र समाजमा भरपर्दो सामाजिक व्यक्तित्वबाटै सुरक्षित छैन । यसले के हाम्रो समाजमा मानविय संवेदना हराउँदै गएको हो त ? भन्ने गम्भिर चिन्ताको विषय उजागर गरेको छ ।
समाज सभ्य र विकसित हुँदै गएको दाबी गरिरहँदा बलात्कार, हिंसा, हत्या, दुर्ब्यहार तथा अन्य अमानवीय गतिविधिका घटना बढ्दै जानु गम्भीर चिन्ताको विषय बनेको छ । यस्ता घटनाले केवल एक व्यक्ति वा परिवारलाई मात्र पीडा दिँदैनन्, यसले समग्र समाजको नैतिकता, सामाजिक विश्वास र मानवीय संवेदनामाथि प्रश्न खडा गर्छ। विशेषगरी बलात्कार तथा लैङ्गिक हिंसाले पीडितको शारीरिक र मानसिक जीवनमा गहिरो असर पार्नुका साथै परिवार र समुदायमा समेत दीर्घकालीन पीडा र असुरक्षाको भावना सिर्जना गर्छ।
यस्ता घटनाको निरन्तरताले समाजमा भय र अविश्वास बढाउँछ। मानिसहरू एक–अर्काप्रति शंकालु बन्न थाल्छन् र सामाजिक सम्बन्ध कमजोर हुँदै जान्छन्। बालबालिका तथा किशोरकिशोरीको मनोविज्ञानमा समेत यसको नकारात्मक प्रभाव पर्न सक्छ। अझ पीडितलाई नै दोष दिने, घटना लुकाउने वा सामाजिक प्रतिष्ठाका नाममा मौन बस्ने प्रवृत्तिले अपराधीलाई अप्रत्यक्ष रूपमा प्रोत्साहन गर्छ।
अमानवीय गतिविधि नियन्त्रणका लागि कानुनको प्रभावकारी कार्यान्वयन पहिलो आवश्यकता हो। अपराधीले राजनीतिक, आर्थिक वा सामाजिक पहुँचका आधारमा उन्मुक्ति पाउनु हुँदैन। साथै विद्यालय तहदेखि नै नैतिक शिक्षा, लैङ्गिक समानता, सम्मानजनक व्यवहार, सहमति, मानव अधिकार र जिम्मेवारीका विषयमा व्यवहारिक शिक्षा दिनुपर्छ। अभिभावकले बालबालिकासँग खुला संवाद गर्ने वातावरण बनाउनुपर्छ भने सञ्चारमाध्यम र सामाजिक सञ्जालले पनि संवेदनशील विषयलाई जिम्मेवार ढङ्गले प्रस्तुत गर्नुपर्छ । सम्मानित स्थानमा रहेका व्यक्तिबाट पनि हाम्रा बालिका र किशोरी सुरक्षित नहुनु गम्भिर चिन्ताको विषय हो । तसर्थ कुन स्थानमा छु र मेरो जिम्मेवारी र नैतिक आचरण के हुनुपर्छ भन्ने कुरामा पनि सबै जनाले सोच्नुपर्छ ।
मानवीयता केवल पाठ्यपुस्तकमा पढाइने विषय होइन यो व्यवहारमा देखिनुपर्ने संस्कार हो। अरूको पीडालाई आफ्नै पीडाजस्तो महसुस गर्ने, अन्याय देख्दा आवाज उठाउने र कमजोर व्यक्तिको संरक्षण गर्ने संस्कार विकास गर्न सके मात्र समाज सुरक्षित बन्न सक्छ। कानुन, शिक्षा, परिवार र समुदाय सबैको संयुक्त प्रयासबाट मात्र हिंसामुक्त, न्यायपूर्ण र मानवीय समाज निर्माण सम्भव छ । हाम्रो समाजमा नैतिकताको खडेरी लाग्दै गएको सन्दर्भमा कानुनको जग बलियो बनाउनुपर्ने आवश्यकता देखिन्छ । साथै नैतिकता र संस्कारयुक्त समाज निर्माण अभियानमा हामी जुट्नु पर्ने बेला आएको छ । अब मौन बस्ने होइन, मानवीयता जागृत गर्ने समय आएको छ।