विद्यार्थी भन्छन् “हामीले खाना खाने तरिकानै अब बदल्छौँ”
नवलपरासी पूर्व । कक्षा ९ मा पढ्ने विमर्श भट्राईले अब देखि आफ्नो खाना खाने शैली नै परिवर्तन गर्ने बताउनुभयोे । विद्यालयले चलाएको पोषण सम्बन्धि विशेष कक्षामा पोषणको महत्त्वका बारेमा सुनेपछि उहाँले सन्तुलित आहारमा जोड दिने बताउनुभयो ।
विद्यार्थी गरिमा अधिकारीले पनि आहारलाई सन्तुलित बनाउनुपर्ने कुरा सुनाउनुभयो । उहाँले विभिन्न खाद्यवस्तुहरुमा हुने पोषक तत्वका विषयमा विद्यालयको पोषण सप्ताहले बुझाएको बताउनुभयो ।
कक्षा ९ मै पढ्ने समिक्षा ढकालले सन्तुलित खानाको बारेमा आफ्ना अभिभावकहरुलाई पनि सुनाउनुभयो । घरमा हुने दैनिक खानपानका विषयमा अभिभावकलाई पनि सुनाउनुभयो । अब उहाँको भान्छामा पनि सन्तुलित आहारको व्यवस्थापन हुने ढकालको विश्वास छ ।

पोषणका बारेमा व्यवहारिक रुपमा सिकाइएको कुरा बुझ्न सहज हुने रहेछ । विद्यालयले एकसातासम्म गरेको पोषण सप्ताहले जीवनशैली सुधारमै मद्दत मिलेको विद्यार्थी सृष्टि शर्माको भनाइ छ ।
एक सातामा विद्यालय नर्स बरालले एकहजार बढी विद्यार्थीलाई पोषणका बारेमा बताइसक्नुभएको छ । विद्यार्थीको सर्वाङिगण विकासका लागि विद्यार्थीको खाना पोषणयुक्त हुन अति अनिर्वाय छ । त्यस कारण पनि विद्यार्थीहरुलाई पोषणका बारेमा जानकारी दिन अभियान चलाएको विद्यालय नर्स बरालको भनाइ छ ।
प्रभावकारी सिकाई प्रक्रियालाई जोड दिन विद्यालयले कक्षा कोठा शिक्षण शैली बाहेक अन्य तरिकाबाट पनि सिकाई प्रक्रियामा जोड दिँदै आएको विद्यालयका सहायक प्रधानाध्यापक नारायण तिमिल्सिनाले बताउनुभयो ।
जनक नमुना माध्यामिक विद्यालयमा जेठ १ गतेदेखि सञ्चालन भएको पोषण सप्ताह कार्यक्रममा एक हजार बढी विद्यार्थीहरुले पोषणका बारेमा जानकार हुन पाएका छन् ।
पोषण सप्ताहको आयोजनाले विद्यार्थीहरूमा सन्तुलित आहार, स्वच्छता, र स्वास्थ्यसम्बन्धी ज्ञानको विकासमा महत्वपूर्ण योगदान पु¥याउने देखिन्छ । एकहजार बढी भान्छाकोठमा पोषण शिक्षा पुग्नु भनेको समाज स्वस्थ हुनु हो, यस्तै अर्थपूर्ण सिकाइमा विद्यालयले सिकाइ गतिविधि चलाउन आवश्यक छ ।
यो रिपोर्ट सामग्री विजय एफएममा कार्यरत पत्रकार प्रमिला लामिछानेले तयार पार्नुभएको हो । उहाँले स्थानीय विषयमा कलम चलाउनुहुन्छ ।