कमला ढकालको कविता : व्यथिति
यो व्यथिति, न आँसुमा मात्र छ,
न त चिच्याउने आवाजमा,
यो त छ, मौन मनका चोटहरूमा,
र नि:शब्द दृष्टिमा बगेका पीडामा।
सडकभरि अनुहारहरू छन्,
तर मान्छेहरू हराएका छन्,
मन्दिरभित्र देवता छन्,
तर बाहिर भोकले लडिरहेका छन्।
कहाँ हरायो त्यो मानवता?
कहाँ हरायो संवेदना ?
जब कसैको क्रन्दनलाई सेल्फी बनाइन्छ,
र रगतलाई खबरको हेडलाइन।
म पनि देख्छु, म पनि सुन्छु,
तर म चुप छु, मौन छु,
किनकि मेरो आवाज ‘soft storm’ हो,
चिच्याएर सुनिएन होइन ? अब लेखेर बोल्छु।
यो व्यथिति, मेरो मात्र होइन,
हाम्रो साझा घाउ हो,
जहाँ सहानुभूति नै ठूलो शक्ति हो,
र शान्त प्रतिकार नै परिवर्तनको आधार हो।
कमला ढकाल
लक्ष्मी मावि, अमरापुरी गैँडाकोट
.jpg)
तपाईं पनि यस्तै रचना, लेख, शिक्षासम्बन्धि आलेखहरु, विद्यार्थीका रचना पठाउन चाहनुहुन्छ भने, हाम्रो यस इमेल ठेगानामा पठाउन सक्नुहुनेछ । - edusridotcom@gmail.com