नेपाल शिक्षक महासंघ अध्यक्ष लक्ष्मी किशाेर सुवेदीकाे बधाई, धन्यवाद र अनुरोध पत्र

२०८३ भदौ ४ बिहीबार ०५:१७:०० मा प्रकाशित

भदाै ३ / विद्यालय कर्मचारी, प्रारम्भिक बाल कक्षाका शिक्षक र सिकाइ अनुदानका शिक्षक साथीहरू सबैलाई बधाई । सबै एक भएर लाग्यौं भने सरकार काम गर्न बाध्य हुन्छ भन्ने प्रमाणित भएको छ । सरकारले यो निर्णय दबाबमा परेर गरेको हो । आफैंले बुझेर निर्णय गर्ने भए, बजेट आउँदै यो कुरा आइ सकेको हुन्थ्यो । तथापि नेपाल सरकार, माननीय शिक्षा मन्त्री तथा यसमा सकारात्मक पहल गर्नुहुने सबैलाई हार्दिक धन्यवाद छ ।

१. मन्त्री परिषदले निर्णय गरेर प्रवक्ताले पढेको विषय पनि लागु नभएको विगतको तीतो अनुभव शिक्षाकर्मीसँग छ । त्यसैले आफ्नो खातामा साउन महिनाको तलब बढेर आएपछि यसमा पूरा विश्वास गर्नु उचित हुनेछ ।

२. बालकक्षा शिक्षक र विद्यालय कर्मचारीको लक्ष्य भनेको पद(दरबन्दी) सिर्जना र पद अनुसारको तलबमान हो । त्यसपछि विगतमा भएको सहमती अनुसार आन्तरिक प्रतियोगिताबाट आयोग मार्फत स्थायीत्वमा जाने हो । साथै उमेरका कारण सेवा निवृत्त भएका साथीहरूका लागि सेवा अनुसार आर्थिक सुविधा हो ।

–सिकाइ अनुदानको साथीहरूको माग अहिलेका कोटालाई स्वीकृत दरबन्दी लैजाने र सहमतीअनुसार शिक्षक सेवा आयोगबाट आन्तरिक प्रतिस्पर्धामार्फत् स्थायी हुने हो । ऐनमा यी मुद्दा स्थापित गर्न एक भएर लड्नुको विकल्प छैन ।

३. नयाँ युवा शिक्षक साथीलाई सरुवा व्यवस्थाले अत्यन्त पीडा दिएको छ । अव्यवहारिक सरुवा व्यवस्था परिवर्तन हुनै पर्छ । घर छेउमा दरबन्दी खाली छ, लिने र पठाउने दुबै विद्यालय तयार छन् भने शिक्षकलाई सरुवा हुनबाट रोक्नुको औचित्य के छ ? त्यसैले अब परीक्षण काल पूरा भएपछि सरुवा हुन पाउने व्यवस्था हुनुपर्छ । शिक्षकलाई इच्छा विपरित कुनै ठाउँमा जबर्जस्ती राखेर राज्यलाई कुनै फाइदा हुँदैन ।

४. अस्थायी प्रकृतिका राहत, साविक उमावि, विशेष शिक्षा र प्राविधिक धारका साथीहरूका पनि थुप्रै समस्या र पीडा छन् । स्थायी शिक्षकका पनि थुप्रै समस्या छन् । संस्थागत विद्यालयका शिक्षक, सामुदायिक विद्यालयमा आन्तरिक स्रोतबाट पारिश्रमिक लिने शिक्षक–कर्मचारीहरू, पालिका र प्रदेश अनुदानका साथीहरू सबैका थुप्रै समस्या छन् । ती सबै समस्याको निराकरण अग्रगामी ऐन मार्फत् खोज्ने हो ।

५. शिक्षकमाथि गरिएका केही विभेदको अन्त्यका लागि २०८२ बैशाख १७ को मन्त्री परिषदको ९ बुँदे निर्णयको कार्यान्वयन आवश्यक छ ।

६. पेसागत आन्दोलनको धर्म हुन्छ–" पाएको लिने र पूर्णताका लागि लडिरहने ।" त्यसैले सबै समस्या एकमुष्ठ समाधान गर्न शीघ्रातीशीघ्र विद्यालय , विद्यार्थी, शिक्षक कर्मचारी मैत्री ऐन आउन आवश्यक छ । यसका लागि सबै मिलेर अब निर्णायक लडाई लड्नुपर्छ ।

आउनुहोस् फेरि एकपटक सबै मिलेर विद्यालय, विद्यार्थी ,शिक्षक र कर्मचारीको समग्र उन्नयनको पक्षमा लडौं । सबैको जय होस् । 

लक्ष्मी किशाेर सुवेदीकाे फेसबुकबाट साभार