एउटै नगरपालिकाभित्र कक्षा ११ र १२ सञ्चालित विद्यालयहरूमा किन आवश्यक छ एकरुपता ?

२०८३ असार २८ आइतबार ०४:३५:०० मा प्रकाशित

 

एउटै नगरपालिकाभित्र सञ्चालित माध्यमिक विद्यालयहरूमा कक्षा ११ र १२ सम्बन्धी व्यवस्थामा ठूलो असमानता देखिनु चिन्ताको विषय बनेको छ। कक्षा ११ ,१२ अध्यापन गर्ने दरबन्दीका शिक्षकभन्दा बाहेकका शिक्षकहरुले पाउने सुविधामा भिन्नता, ११ १२ दरबन्दीका शिक्षकले कति पिरियड पढाउनुपर्ने भन्ने बारेमा भिन्नता, विद्यालयहरूले प्रदान गर्ने विदामा भिन्नता, शिक्षकहरूको मर्यादाक्रममा भिन्नता लगायतका धेरै विषयहरूमा विद्यालयअनुसार फरकफरक अभ्यास देखिन्छ।

एउटै नगरपालिकाभित्रका विद्यालयहरूमा देखिएको यी भिन्न भिन्न व्यवस्थाले शिक्षकहरूलाई अन्योलमा पार्नुको साथै असन्तुष्टि पनि बढाएको छ। एउटै तह र एउटै पाठ्यक्रम पढाउने शिक्षकले विद्यालयअनुसार फरकफरक सुविधा र फरकफरक कार्यभार व्यहोर्नुपर्दा समानताको भावना कमजोर हुन्छ यसको प्रत्यक्ष प्रभाव अध्यापनको गुणस्तर र शिक्षकको मनोबलमा पर्न सक्दछ।

स्थानीय सरकारलाई माध्यमिक शिक्षाको व्यवस्थापनमा महत्त्वपूर्ण भूमिका दिइएको सन्दर्भमा नगरपालिकाले स्पष्ट मापदण्ड तयार पारी समान अवधारणा लागू गर्न आवश्यक देखिन्छ। न्यूनतम सेवा सुविधा, पठनपाठनको समय, शिक्षकको कार्यभार, विदाको व्यवस्था, विदामा विद्यालयमा अध्यापन गर्दा पाउनुपर्ने सुविधा, मूल्याङ्कन र अन्य प्रशासनिक व्यवस्थाका विषयमा साझा नीति लागू गर्न सके शिक्षक र विद्यालय बीच अनावश्यक भ्रम तथा विवाद कम हुनेछ।

विद्यालयको आफ्नै विशेषता र आवश्यकतालाई सम्मान गर्दै पनि आधारभूत नीतिमा एकरुपता कायम गर्नु आजको आवश्यकता हो। सम्पूर्ण विद्यालयहरूको समान मापदण्डले शिक्षकको मनोबल बढाउने, विद्यार्थीहरूलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउने र विद्यालय व्यवस्थापनलाई थप व्यवस्थित बनाउने विश्वास गर्न सकिन्छ।

धन्यवाद। जय शिक्षा।