“क्षति न्यूनिकरण गर्न, उपचारात्मक शिक्षण विधि अपनाउँछौँ” – प्रधानाध्यापक तिवारी 

२०८२ बैशाख २९ सोमबार १४:३२:०० मा प्रकाशित


गैँडाकोट नगरपालिका वडा नं. ३ कै एकमात्र माध्यामिक तहको विद्यालय श्रीकृष्णगण्डकी माध्यामिक विद्यालयका प्रधानाध्यापक सूर्यनाथ तिवारीलाई  नयाँ शैक्षिक सत्र कसरी अघि बढिरहेको छ ? सिकाई उपलब्धी बढाउन के कसरी अघि बढ्नुहुन्छ भनि सोधेका छाँै । 
श्रीकृष्णगण्डकीमा नयाँ शैक्षिक सत्र कसरी अघि बढ्दैछ ? 

नयाँ शैक्षिक सत्र, शिक्षक आन्दोलन पश्चात विद्यालय फर्केर विद्यार्थी भर्ना अभियान र शिक्षण कार्य एकसाथ अघि बढाएका छौँ । भर्ना अभियान सकिएको छ । विद्यार्थीले हातहातमा पाठ्यपुस्तक पाइसकेका छन् । विद्यालयमा बैशाख १९ गतेबाट नियमित पठनपाठन सुरु भएको छ । 


शिक्षक आन्दोलनका कारण विद्यार्थी संख्या घटे भनिन्छनी ?

आन्दोलनको प्रभाव त परेको छैन । आन्दोलनमा गएकै कारण विद्यार्थी संख्या घटेका त छैनन् । गैँडाकोट ३ ढोडेनीमा सुगमता बढेसँगै, अझ भनौँ सडक बनेपछि संस्थागत विद्यालयका गाडी गुड्न थाले र तल्लोतहका विद्यार्थी केही संस्थागत विद्यालय तर्फ गएको देखिन्छ । भर्ना हुन नआएका विद्यार्थीको घरमा घरदैलो अभियान जारी छ । 


अहिलेसम्म कति जना विद्यार्थीको नाम अभिलेखीकरण भएको छ ?

अहिलेसम्म ३ सय जना विद्यार्थी आइपुग्नुभएको छ । अरु पनि आउने क्रम जारी छ । 

अघिल्लो वर्ष कति जना विद्यार्थी थिए ?

अघिल्लो वर्ष ३ सय ३३ जना विद्यार्थी थिए । 

यो शैक्षिक सत्र केही दिन ढिला भयो ? विद्यार्थीको सिकाईमा परेको क्षति न्यूनिकरण कसरी गर्नुहुन्छ ?

यसमा समग्र गैँडाकोट नगरपालिका भित्रका प्रधानाध्यापक बसेर क्षति भएको दिनलाई दशैँविदामा हुन्छकी, वर्षे विदा कटौती गरेर हुन्छकी त्यसमा समायोजन गर्ने गरि योजना बनाउँछौँ । पालिकास्तरको निर्णयलाई स्वीकार गरेर अघि बढ्छौँ । 

गत शैक्षिक सत्र कस्तो रह्यो ?
गत शैक्षिक सत्र राम्रै रह्यो । कक्षा ८ को परीक्षामा सोचे अनुसारको प्रतिफल आएन । अघिल्लो शैक्षिक सत्रमा शिक्षक व्यवस्थापनका काम भए, त्यस कारण हामी सबल सक्षम विद्यालयका रुपमा छौँ । न्यून सिकाइ भएका विद्यालयका विद्यार्थीलाई निःशुल्क अतिरिक्त कक्षा सञ्चालन गरेका थियौँ । सिकाइ उपलब्धी सन्तोषजनक नहुनुमा शिक्षकको मात्र हात हुँदैन, शिक्षक दरबन्दी, अभिभावक, समाज धेरै पक्षको हात रहन्छ । निमावि र मावि तहमा स्थायी दरबन्दी प्रयाप्त छैन, शिक्षक स्थायी प्रकृतिको हुँदैन, यसले शैक्षिक सत्र प्रभावित गर्ने गरेको छ । बाँकी त हामीले जे गरिरहेका छौँ राम्रो नै अवस्था छ । 


कक्षा ८ मा परीक्षाफल राम्रो नहुनमा तल्लो तहका कक्षामा प्रभावकारी शिक्षण सिकाइ नभएर हो की ?

प्रभावकारी नभएर होइन, हामीले प्रयत्न गरिरहेका छौँ । कोभिडको बेलामा तल्लो तहका विद्यार्थीको शिक्षण क्रियाकलाप प्रभावकारी हुन नपाउँदा उदार कक्षोन्नती भइरहँदा माथिल्लो कक्षामा आउँदा समस्या थपिँदै जाने रहेछ । त्यसका कारण हामीले अहिले कक्षा १ मा कक्षा शिक्षण विधिबाट पठनपाठन सुरुवात गरका छौँ । अहिले उनिहरुमा राम्रो सुधार आएको देखेका छौँ । अघिल्लो वर्षसम्म गैँडाकोट नगरपालिकाले ग्रेस नम्बर दिएर विद्यार्थी उत्तीर्ण गराउने गरेको थियो, अहिले त्यो व्यवस्था हटायो । यसले पनि अब हामी सुध्रीनुपर्दछ भन्ने लागेको छ । 

नयाँ शैक्षिक सत्रमा सिकाइ उपलब्धी बढाउन के गर्नुहुन्छ ?

राम्रो सिकाई भएका विद्यार्थीलाई नियमित कक्षाबाटै सिकाई गर्ने छौँ, समस्या भएका विद्यार्थीलाई उपचारात्मक शिक्षण विधि मार्फत सिकाई बढाउने प्रयत्न गर्नेछौँ ।